विश्वसाहित्य:

गाम्बोजाभ मेन्ड–ओयो
(मङ्गोलिया)
एउटा पुरानो मन्दिर माथिको जून (कविता)
जून पुरानो मन्दिरको माथिल्तिर उदाउँछ
त्यसको रुपान्तरित उज्यालोले गजुरलाई सजाउँछ ।
बासुँरीबाट वायु वहन्छ, र
र हृदय फेरी एकपल्ट सूदूर सम्झनाले भरिन्छ ।
ढुङ्गाका कापहरुबीचबाट जङ्गली घाँसहरु उम्रिन्छन्
ती सडकहरुमा जहाँ बुद्धहरु भेला हुन्छन्
तर म देखिरहेको छैन कहाँ गएका छन् बुद्धहरु
किनकी समय अगावै प्रकाश अतिविघ्न चम्किएकोछ ।
जून त्यो पुरानो मन्दिरमाथि उदाउँछ
त्यसको रुपान्तरित प्रकाश प्रत्येक हृदयमा चम्किन्छ
बाँसुरीले मलाई पीडाको संसारबाट टाढा पुर्याउँछ
बुद्धको सूदूर उज्यालोलाई बोलाउँछ ।
मन्दिरको छायाँले यसको अर्थ छोपिदिन्छ
जसरी शब्दहरु प्राचीन मसीमा विलोप हुन्छन्
मानवीय पीडाको छायाँमाथि
मस्तिष्कको मैनबत्तीले कुनै उज्यालो दिन सक्दैन ।
बुद्धको एउटा चम्किलो परिदृष्टि
सुन्दरतम धुलोको कणमा पनि भेट्न सकिन्छ
बाँसुरीको धुनमा स्वर्ग छ
र पुरानो मन्दिरमाथि जून उदाइरहेछ ...
अनुवादः केशव सिग्देल



















