कविता:

दिपिन श्रेष्ठ
झरी
म झरी'रहेछु,
झरी'मै रहेछ।
निरन्तर झरी रहेछौँ हामी-
झरी र म -
परेलिमा, प्यालामा, कफिमा, शिरानिमा, बर्लेसीमा, चिहानमा,
स्मृतीको झ्यालमा ।
हिजो,
जंगलभरी, रातभरी, पातभरी
झरी, म र संगीत,
के गर्यौँ?
त्यहि एकटुक्रा झरी
पिपलपातको टुप्पोमा पिरति उनेर
पर्खीरहन्छ, अबेरसम्म ।
झरनामा, ईन्द्रेणीमा र संगीतमा
म झरी सँगै छु,
झरी म सँगै छ।
फेरीवाला झैं
घरीघरी
झरिका टुक्राहरु
बर्लेर्सीमा गुन्गुनायौँ,
वाछिटा वनेर।
शहरका साँघुरा गल्लीहरुमा झर्यौँ-
सबथोक प्यासभित्र पुरिएका छन् ,
थकान र बेवास्ता गजुर बनेर उभिन्छन्,
फेरी कहिले
कुहिएका नदीपनि
आफै श्रृष्टिकर्ता बनेर
सभ्यताका पाप पखाल्न दौडिन्छन ।
अन्नपूर्णको अनन्त मुस्कान,
कहिले चुलबुले हिमखोली भएर
हिमरेखा मेट्दै
हामी झरी'रह्यौं
झरीनै रहनेछौँ।



















