नेपाली कलासाहित्य डट कम प्रतिष्ठान
बर्ष १० / पूर्णाङक १०
सम्पादकीय:
प्रेमको हावा चलेतिरै...

...जहाँ जीवन छ, त्यहाँ गति छ। जहाँ गति छ, त्यहाँ ठोक्कर पनि छ। जहाँ ठोक्कर छ, त्यहाँ सङ्गीत छ। जहाँ सङ्गीत छ, त्यहाँ उत्सव छ। जहाँ उत्सव छ, त्यहाँ उमङ्ग छ, त्यहाँ आनन्द छ र त्यहीँनेर जीवन सार्थकजस्तो लाग्छ, जीवन विशिष्टजस्तो लाग्छ। त्यतिखेर जताबाट पनि केवल प्रेमकै हावा चलेजस्तो लाग्छ। घामका पाइलाहरू पनि नृत्यमग्न लाग्छन्, पानीको बहाव पनि प्रेममिलनको विभोर भङ्गिमाजस्तो लाग्छ, प्रकृतिसँग मानवसभ्यताको तादात्म्य अति खुलेजस्तो लाग्छ अनि त्यहीँनेर इतिहास स्थगित होओस् भन्ने चाह एकाएक जन्मिनु आहा ! परम आनन्दको क्षण; जतिखेर जीवनको सुन्दरतम लयमा हृदय धड्किरहेको महसुस हुन्छ अर्थात् फक्रिरहेको फूलको जवानी आदर्श विन्दुमा पुगेजस्तो या जीवनको सुन्तरतम, मनोहरतम क्षणलाई युगले नै रेखाङ्कन गरेजस्तो अनुभूत हुन्छ: जुन रेखाङ्कित सत्य नै कलासाहित्य एवम् संस्कृतिको आदर्श सत्य हो। हामी बाँचेको इतिहासको त्यही रेखाङ्कित क्षण हामी बाँचेको विशिष्ट प्रमाण स्वरूप आगामी युगलाई सगर्व हस्तान्तरण गर्दै जाने छौँ। यसमा हाम्रो त्यही रेखाङ्कित सत्यको पहिचान विश्वभर फैलियोस् भन्ने हेतुले नेपाली कलासाहित्य डट कम प्रतिष्ठानको विशेष प्रयत्न स्वरूप आम स्रष्टाको प्रेमको दस्ताबेज कला, साहित्य, सङ्गीत सम्बद्ध विशुद्ध वार्षिक ई-पत्रिका केही पुराना प्लस धेरै नयाँ सामग्री समाविष्ट www.nepalikalasahitya.com (www.nepaliartnliterature.com) को दसौँ अङ्क अङ्ग्रेजी नेपाली दुवै भर्सनसहित पुनः यहाँहरूलाई समर्पण गरिएको छ।

वास्तवमा धरतीमा घृणाको हावा कताबाट चल्छ भनेर जान्नु एउटा कुशल योद्धाको विशेष पहिचान हो भने प्रेमको हावा कताबाट चल्छ, त्यो विशेष रूपमा जान्नु एउटा स्रष्टाको विशेष कर्तव्य हो। यही प्रेमको सञ्चारणमा कलाश्री छपाइ पत्रिका लगायत यो वेब पत्रिका www.nepalikalasahitya.com (www.nepaliartnliterature.com) निकै हदसम्म सफल भएको हामीले महसुस गरेका छौँ। यसका लागि नेपाली कलासाहित्य डट कम प्रतिष्ठान निर्दिष्ट गन्तव्यमा पुर्याउने सारथिको भूमिकाबाट कहिल्यै अल्पिने छैन। यसमा आम स्रष्टाहरू लगायत सबै सहृदयीहरूलाई हाम्रो साधुवाद !

अन्ततः प्रेमकै हावा चलेतिरको यो यात्रामा सहयात्री सबै सहृदयीहरूलाई विशेष धन्यवाद !

कदाचित कतैबाट घृणाको हावा चले पनि कला, साहित्य, सङ्गीत एवम् संस्कृतिको उत्थानका लागि यो मन सदा प्रेमको हावा चलेतिरै....

- मोमिला






प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु