सम्पादकीय:
स्वतन्त्रताको सम्यक् रङ्ग
जिन्दगी जब सरल र तरल भएर बग्दछ; पानीले आफ्नो बाटो आफै बनाएझैँ जिन्दगीले पनि उन्मुक्त भएर लहरिँदै–तरङ्गिँदै, गुन्गुनाउँदै आफ्नो बाटो आफै बनाउँदछ । आफ्नो बाटो आफै बनाउँदै आफ्नै लयमा बग्दा जिन्दगी— बाटामा खाल्डा भेटिए ऊ भरिएर बग्छ, अवरोध र ठेसहरू भेटे कहिले ठोक्किँदै–छचल्किँदै सङ्गीतमा बग्छ, कहिले तिनै अवरोध र ठेसहरूलाई शालीग्राम बनाउँदै बग्छ, यदि पहाड नै उभिए मोडिएरै भए पनि बग्छ, जताततै बाँधिए उन्मुक्तिको प्रयत्नमा बाढी भएर पनि बग्छ र अन्ततः जसरी नि बग्दै–बग्दै प्रकृतिको सागरीय लीलामा समाधिस्थ हुन्छ । यसमा कुनै अमर्यादित प्रश्नहरूको प्रसङ्ग बटुलेर समाज नामको जुलुसले बग्नुको स्वतन्त्रताका विरुद्धमा कुनै नारा लगाउने छैन । प्रकृतिको संविधानमा स्वीकृत यो जीवनको सम्यक् स्वतन्त्रतालाई पूजा गर्ने लेखकीय धर्मलाई सभ्यताको कुनै धाराउपधाराले प्रतिवाद गर्नेछैन; जहाँ मर्यादाको मधुरम रङ्ग स्वत अनुभूत हुन्छ । यही सत्य नै सृजनधर्मिताको खास मर्म हो । यस्तै मर्मभेदी विशिष्ट नेपाली कलासाहित्यलाई विश्वपरिवेशमा पुर्याउने र चिनाउने आफ्नो पन्ध्र वर्षे रोडम्याप बमोजिम नै निरन्तर लड्दै–पड्दै उही असाध्य आत्मवीणाको झङ्कारजस्तो सङ्गीतमा पुलकित हुँदै आत्मजनको सहयोग र नेपाली कलासाहित्य डट कम प्रतिष्ठानको दृढताले कलाश्री नामक छपाइ पत्रिकालगायत भारतः शाश्वत आवाज नामक मूल कन्नड भाषामा लेखिएका कविताहरूको अङ्गे्रजी–नेपाली दुवै भर्सन एकसाथ रहेको ई–पुस्तकसहित नेपाली कला, साहित्य, सङ्गीत सम्बद्ध विशुद्ध वार्षिक ई–पत्रिका केही सम्पादित पुराना प्लस धेरै नयाँ सुरुचिपूर्ण सामग्रीहरू समाविष्ट गरी www.nepalikalasahitya.com (www.nepaliartnliterature.com) को अङ्ग्रेजी र नेपाली भर्सनसहित एघारौँ अङ्क पुनः यहाँहरूमा समर्पण गरिएको छ ।
यथार्थतः जब यो सृष्टिमा सम्पूर्ण अन्धकार छाउने छ; लाग्छ त्यतिखेर बाँकी अन्तिम उज्यालोको सन्धान स्रष्टाले नै गर्ने छन् र अन्तिम सृष्टिको वीज पनि स्रष्टाले नै सुरक्षित राख्नेछन् । यसमा स्रष्टाको स्वतन्त्र तर दिव्य सम्यक् रङ्ग उत्तरदायी हुने छन् । यसरी स्वतन्त्रताका पूजारी बनेर आस्थाका रङ्गहरू छर्ने स्वतन्त्रताकै संवाहक साहित्यकार एवम् कलाकारप्रति नेपाली कलासाहित्य डट कम प्रतिष्ठान सम्मानभाव अर्पण गर्दछ ।
प्रसङ्गमा सिर्जनाका माध्यमबाट स्वतन्त्रताको सम्यक् रङ्गयात्रामा हामीलाई साथ दिनुहुने सबै सहृदयी स्रष्टाप्रति आभार प्रकट गर्दछु ! त्यसमा पनि अनुवादमा साथ दिइरहनुभएका जुझारु स्रष्टाहरू महेश पौड्याल, केशव सिग्देल, सुमन पोखरेल र सुरेश हाचेकालीप्रति विशेष आभार व्यक्त गर्दछु ।
सन्दर्भमा अर्किड सौन्दर्यको कलात्मक सम्मानसरि सुन्दर जीवनका लागि कला, साहित्य, सङ्गीतका नाममा समर्पित यो मन सदा स्वतन्त्र सम्यक् रङ्गका पक्षमा... !!