सम्पादन–परिदृश्य
लयभङ्ग भए पनि, जीवन...
कहिलेकाहीँ प्रकृतिलाई पनि असह्य हुँदो हो, सायद ! आफ्नै सिर्जना भएर पनि आफैलाई छुरी घोप्न खोज्ने चकचके मानवसभ्यतालाई बन्दी बनाएर आफू मस्तसँग लामो छुट्टी मनाउन टाढै गएजस्तो छ । झ्यालभित्रबाट बाहिर देखिँदै गरेको सङ्लिएको आकाश, सङ्लिएको पानी, प्रदूषणको घाउमा बिस्तारै खत बसेजस्तो केही निखार आउँदै गरेको लोभलाग्दो पर्यावरण ! यद्यपि स्वतन्त्रताप्रेमी सिङ्गो मानवजाति भने प्रश्नैप्रश्नको साङ्लोले बाँधिएर त्रास, छटपटी, अनिश्चितता एवं उकुसमुकुसमाा श्राप काटिरहेजस्तो यो कोभिड कहरको बन्दी प्रहर ! कतै निरर्थक जिन्दगीको जाहेरीस्वरूप सडकभरि पैसा फालिएको दृश्य ! त कतै मर्नुअघि नै लाश गाड्ने खाल्डो खनिएको दृश्य ! लाग्छ, मान्छेका सारा अहङ्कारहरू चुरचुर हुँदै गएको भयानक चलचित्रजस्तो परिवेशमा हामी सब निरीह पात्रको भूमिकामा छौँ । यस्तो सपनाजस्तो परिवेशको निरीह पात्रताबाट बाहिर निस्कन निकै गाह्रो नै हुँदो रहेछ । यद्यपि लयभङ्ग भए पनि जीवन पुनः विल्कुल नवीन भङ्गिमाका साथ अर्को लयमा बग्न थाल्दो रहेछ ! बन्दी जीवनको सिर्जना भए नि त्यही एकान्त सङ्गीतको तालमा बाहिर बर्सातलाई गीत गाऊँगाऊँ लाग्ने, फूललाई नाचूँनाचूँ लाग्ने बनाउन सक्दो रहेछ, मान्छे ! मानौँ, आकाशमा उन्मुक्त उडिरहेको बादल, धरतीमा छङछङ स्वतन्त्र बगिरहेको पानी, धरती र आकाशको प्रेमको साक्षी बनेर बीचैमा शानले बहिरहेको हावा अनि बरियातको उमङ्गमा झलमलाइरहेका घामजून र ताराहरू पनि सारासारा ईष्याले उल्टै मान्छेसँगै आ–आफ्नै अस्तित्वको सामाजिक अनुमोदन मागिरहेजस्तो लाग्दो रहेछ । यसरी जबसम्म यो संसारमा जीवन छ; तबसम्म जीवनको सुगन्धलाई कसैले बन्दी बनाउन नसक्दो रहेछ ! जीवनका यिनै सत्यका संवाहक मानिने कलासाहित्यको उत्थानमा हरतरहले समर्पित संस्था नेपाली कलासाहित्य डट कम प्रतिष्ठानको विशेष प्रयत्न अनि आत्मजनको सहयोगले कलाश्री नामक छपाइ पत्रिकालगायत नेपाली कला, साहित्य, सङ्गीत सम्बद्ध विशुद्ध वार्षिक ई–पत्रिका केही सम्पादित पुराना प्लस धेरै नयाँ सुरुचिपूर्ण सामग्रीहरू समाविष्ट गरी अङ्ग्रेजी र नेपाली भर्सनसहित www.nepalikalasahitya.com / www.nepaliartnliterature.com को बाह्रौँ अङ्क पुनः यहाँहरूमा समर्पण गरिएको छ ।
यथार्थतः यो सृष्टिमा जति अँध्यारो छाए पनि जीवनको उज्यालो सम्भावनालाई कसैले पनि रोक्न नसक्दो रहेछ ! तिनै उज्यालो सम्भावनाका संवाहक स्रष्टाको सम्यक कर्मको जीवन्त साक्षी बन्न पुगेको छ, कलाश्री साहित्य वार्षिकसँगै यो ई–पत्रिका । यसरी कोरोना कहरबीचको इतिहासमा सबै लेखकीय सत्कर्मको दस्तावेज कलाश्री छपाइ पत्रिका एवं यो ई–पत्रिका www.nepalikalasahitya.com / www.nepaliartnliterature.com आस्था र विश्वासको जीवन्त स्मारक बन्ने छ भन्ने गर्विलो विश्वास लिएका छौँ । यसमा सत्कर्मयात्राका जीवन्त सारथि नेपाली कलासाहित्य डट कम प्रतिष्ठानलाई एनएलजीको स्नेहिल साथ स्रष्टाजगतमा सदा अविष्मरणीय रहने छ ।
यसरी रफ्तारमा लयभङ्ग भए पनि प्रसङ्गमा नूतन भङ्गिमाका साथ सिर्जनाका माध्यमबाट जीवनको सम्यक् लयको आविष्कारमा साथ दिनुहुने सम्बद्ध सबै आत्मजन एवं सहृदयी स्रष्टाहरूप्रति नेपाली कलासाहित्य डट कम प्रतिष्ठान सम्मानभाव अर्पण गर्दछ । त्यसमा पनि अनुवादजस्तो कठिन कार्यमा सप्रेम साथ दिइरहनुभएका जुझारु स्रष्टाहरू , केशव सिग्देल, महेश पौड्याल, सुमन पोखरेल र सुरेश हाचेकालीप्रति विशेष आभार व्यक्त गर्दछ ।
सन्दर्भमा लयभङ्ग भए पनि सुन्दर जीवनका लागि कला, साहित्य, सङ्गीतका नाममा समर्पित यो मन सदा नूतन भङ्गिमापूर्ण सुमधुर सम्यक् लयका पक्षमा...!!!