कविता:
उषा शेरचन
तिमीसँग दाँजिन कहाँ सक्छु म ?
बर्षौँ बर्षदेखि
दौडिरहेको तिमी
भर्खरै बामे सर्ने
तरखरमा रहेकी म
सधैंभरि उज्यालो बाटोमा
हिँडिरहेको तिमी
भर्खरै अँध्यारो गुफाबाट
निस्केकी म
उड्नका लागि
सग्लो पखेटा भएको तिमी
उड्लान् कि भनि
पखेटा काटिएकी म
जहिल्यै पनि भारविहीन तिमी
सधैंभरि भारीसहित म
एउटै उकालोमा
बराबरी हिँड्न कसरी सक्छु म ?
तिमीसँग दाँजिन कहाँ सक्छु म ?