नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

पुस्तक - समीक्षा:


उपेन्द्र सुवेदी

सरल, संवेद्य कविताहरुको कोसेली ‘काबेली किनार’

नेपाली सहित्यमा निबन्धबाट प्रवेश गरेका साहित्यकार राप्रसाद उप्रेतीले ‘काबेली किनार’बाट कविता क्षेत्रमा पनि आफ्नो उपस्थित जनाएका छन् । मातृभूमिको असीम माया छातीमा बोकेर विभिन्न तीर्थ र देशमा पुगेका उप्रेतीले आफ्ना यात्राका सम्झनालाई लिएर ‘अन्तिम आकाश’ नियात्रा सङ्ग्रह प्रकाशन गरेका थिए भने यसले मनमा उठाएका भावनालाई लिएर यो कविता सङ्ग्रह अगाडि सारेका छन् । आफ्ना केही क्षणहरूको सम्झना गर्दै सृजना गरिएको ‘थोत्रा कलमहरू’ शीर्षकको निबन्ध सङ्ग्रह उनको पहिलो साहित्यिक कृति थियो ।

चौतिस ओटा कविताहरू समेटिएका ‘काबेली किनार’ कविता सङ्ग्रहमा देशप्रेम, धर्म, संस्कृति तथा राजनीतिलाई विषयवस्तुका रूपमा लिइएको छ । यसका साथै मानव जीवनका आरोहअवरोहलाई यसले समेट्न पुगेको छ । यी कविताको मूल निचोडचाहिँ जीवन भोगाइ नै हो । काबेली किनारबाट आफ्नो जीवन आरम्भ गरेका कविले जीवनका विभिन्न मोडमा कहीँ देश रोएको देख्छन् भने कहीँ देश हाँस्ने ठाउँको खोजी गर्छन् । यस्तै कवि कहीँ देशको विभिन्न ठाउँमा पुगेर त्यहाँको माटो सुँघ्छन् र यसको महिमा गाउँछन्; कही देशका सपुतहरूको सम्झना गर्न पुग्छन् भने कही देशका विभिन्न प्राकृतिक हरियालीमा रमाउन पुग्छन् । देशको उन्नतिको बाटो खोजिरहने उनी आफ्नी जीवनसाथी तथा विद्यार्थीहरूलाई पनि सम्झन छुटाउँदैनन् ।

अध्यात्ममा निकै आस्था राख्ने कविले सत् विचार राख्ने आत्मालाई नै ठूलो मानेका छन् । प्रकृतिको मानवीकरण गर्दै प्रकृतिलाई आत्मसात् गरेका उप्रेतीले धेरै कवितामा आफूलाई प्रकृतिमा हराएको कुरा उल्लेख गरेका छन् । प्रकृतिमा पनि नदीनालाको प्रसङ्ग नै बढी आएका छन् । काबेली, कृष्णगण्डकी, वाग्मती, कन्काइ, कोशी आदि नदीको उल्लेख गरे पनि नेपालका सबै नदीलाई भावनात्मक रूपले समेटिएको छ । वानीरा गिरी, सत्यमोहन जोशी, भानुभक्त, मोतीराम भट्ट, शङ्कराचार्य आदि व्यक्तित्वको महानता वर्णन गर्न पनि उनी चुकेका छैनन् । नेपाल आमा र आफ्नी जीवनसङ्गिनीलाई ठाउँठाउँमा सम्झन पुगेका छन् । यस्तै धर्म लगायत तीर्थ आत्मा आदि विषयवस्तुलाई पनि आफ्ना कवितामा राखेका छन् । समृद्ध नेपाल बन्न सक्ने सम्भावना देखाउन पनि पछि परेका छैनन् कवि । यसरी हेर्दा उनले जीवनमा पलपलमा भेटिएका प्रत्येक चिजलाई आफ्ना कविताको विषयवस्तु बनाएको पाइन्छ ।

कविले कविता रचना गर्नका लागि कुनै क्षेत्रको चयन नगरी आफूलाई जुन कुराले प्रभाव पार्छ त्यसै विषयमा कविता लेख्ने गरेको तथ्य यसबाट फेला पार्न सकिन्छ । सबै कविताको मूल सन्देश भनेको जेमा पनि सकारात्मक सोचाइ हुनुपर्छ भन्ने नै छ । बनाउनुपर्छ र सबै अगाडि बढ्नुपर्छ भन्ने किसिमका भाव यहाँका कविताले बोकेका छन् । राजनीतितर्फ भने वितृष्णाको गन्ध बोकेका कविता पाइन्छ । विशेषगरी नेता र सभासद्लाई व्यङ्ग्य प्रहार गरिएको छ ।

आकारका दृष्टिले ‘काबेली किनार’का कविता धेरै लामा छैनन् । आफ्ना विचारलाई लम्बेतान दिएर पाठकलाई अल्मल्याउन कवि चाहदैनन् बरु सूक्तिगत रूपमा नै आफ्ना विचार व्यक्त गर्दछन् । यस सङ्ग्रहका प्रायः कविता मध्यम आकारका  रहेका छन् भने कतिपय कविता त सूक्तिमय रहेका छन् । उनका कविताको मूल भनाइ नै देशप्रेम र शान्तिको कामना हो ।

सरलभाषामा लेखिएका यी कविताहरू बोधगम्य रहेका छन् । केही कवितामा लक्षण र व्यञ्जना शब्दशक्तिको प्रयोग गर्नुपरे पनि धेरै कवितामा अभिधा शब्दशक्तिद्वारा नै अर्थ ग्रहण गर्न सकिन्छ । गद्य लयमा संरचित यी कविताहरू तरल छन् पढ्ने बित्तिकै पाठकका हृदयमा पुगिहाल्छन् । नेपाली र अङ्ग्रेजी दुवै भाषामा रचित यस सङ्ग्रहका कविताले मस्तिष्कलाई कुनै कष्ट नदिई सबै खालका पाठकका मनमा पसिदिन्छन् । जे होस् अरू कविताभन्दा बेग्लै किसिमको स्वाद बोकेका यी कविताले गर्दा कविको यो प्रयास निकै प्रशंसनीय छ  । सरल संबेद्य कविताका कोसेलीका रुपमा यो सङ्ग्रह रहेको छ ।

पुस्तक – काबेली किनार (कविता सङ्ग्रह)
कवि – रामप्रसाद उप्रेती
अङ्ग्रेजी अनुवाद – निरुकोवा
प्रकाशक – नेपाली कलासाहित्य डट कम प्रतिष्ठान
प्रकाशन – सन् २०१५
पृष्ठ – ११४+२६
मूल्य – रु. १५०







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपर :
शैलेन्द्र अधिकारी

सामाजिक सञ्जाल :