पुस्तक - समीक्षा:
शंकरबाबु आचार्य
मोमिलाको भीमसेन थापाको सुसाइड नोट मानबीय मूल्य र आदर्शको पक्षपाती
प्रत्येक १० बर्षमा कम्तिमा एउटा कविता संग्रह प्रकाशित गर्ने दृढ अठोट बोकेर नेपाली साहित्यमा निरन्तर लागीरहेकी कवि मामिलाको पछिल्लो कृति भीमसेन थापाको सुसाइड नोट २०७० सालमा प्रकाशित भएको छ । विभिन्न विषय र भावका भिन्न भिन्न परिवेश र समयमा रचिएका ३२ कबिताहरू यस संग्रहमा अटाएका छन् सयौं थरी फुलको एउटै सुन्दर माला जस्तै । कविताहरू मार्फत कविले मानवीय मूल्य र मान्यता, सामाजिक चेतना, स्वतन्त्रता, समाज परिवर्तनको चाहना र लैङ्गिक भेदभाव विरुद्घ आफ्ना आवाज ससक्त रुपमा उठाएकी छन् । सुन्दर भाषा संयोजन र कवि भाबले मीठा बनाईएका कविताहरू प्रत्येक पान्नामा सललल बगिरहेछन् । कविता कविता मात्रै छैनन् प्रत्येक कविताले एउटा भाव एउटा दर्शन बोकेको छ । त्यसैले मोमिलाको कवितामा जति गहिराईमा डुबुल्की मार्न सक्नु हुन्छ त्यति नै धेरै पाउनु हुन्छ ।
मामिला कतै प्रेममा पोखिएकी छन् कतै मानवीय पिडामा आँशु बनेर छचल्किएकीछिन् । कतै नारी चेतना भएर पुरुषरुपी अहंकारको खेदो खन्छिन् भने कतै स्वतन्त्रताको भित्री चाहनालाई व्यक्त गर्छिन् । प्राकृतिक सौन्दर्य, द्धन्द्घका अषर, असमानता, प्राकृतिक विपत्ती, विभिन्न विसंगतीहरूका बारेमा उनको कलम चलेको छ । धेरै कविताका शीर्षकहरूमा पीडा, क्रन्दन, रोदन आदी देखिएता पनि प्रत्येक बादलहरूको पछाडि चाँदीको घेरा हुन्छ भनेझैं हरेक कवितामा सकारात्मक चिन्तन पाइन्छ ।
कविता अहंकारमुक्त हुनु पर्छ । यसमा नैतिक सीमा हुनु पर्छ । कविता कविताका लागि मात्र होइन यो त समाज परिवर्तनको वाहक हुनु पर्छ भन्ने उनका भनाइलाई उनी आफ्ना कविता मार्फत प्रमाणित गरिदिएकी छिन् ।
‘तिमी र म’ मा पुरुष र नारीको अर्थपुर्ण मिलनले नै सृष्टी र मानव जगतलाई सुन्दर बनाउछ र यो अर्थपुर्ण मिलनका लागि दुवैले अहम् त्याग्नु जरुरी मानवीय सत्यलाई उजागर गरेकी छन् । उनी यस्तो मिलन को प्रतिक्षामा छिन् —
यसरी,
हाम्रो अहम्को दूरी भाँचिएको दिन
आहा ! दोभानमा हाम्रो मिलन हुनु र सँगसँगै बग्नु ।
प्रेम गर्ने र कविता लेख्ने उस्तै ठान्ने कवि मोमिलाका कवितामा प्रेम पाइन्छ । त्यो प्रेम कहिले नारीपुरुष बिचको प्रेम त कहिले राष्ट्र प्रेम । ‘कुनै अरु फूल होइनन...’मा हिंसालाई नकार्दै उनको राष्ट्रप्रेम छचल्किएको छ – स्वदेशी प्रेमी र स्वदेशी फूल प्राप्तिको चाहना मार्फत ।
तर, यतिखेर मलाई
कुनै अरू फूल होइन
मेरै मङ्गलसेन फूल
र तिम्रै प्यार चाहिएको छ
मोमिलाका कविताहरूमा हाम्रा पनि भोगाई, रोजाई र भावनाहरू समेटिएका छन् । सहरमा बस्ने हजारौ मान्छेहरूलाई सहर अझै बिरानो छ, यो सहर उनीहरूको बन्न सकेको छैन । त्यसैले कवि कवितामा लिप्त भएर बिरानो सहरमा क्षतिपुर्ति खाज्दैछिन् ।
त्यसैले,
मेरो आफन्त तिमी
मेरो आत्मिय तिमी
मेरो सत्य तिमी
मेरो ईश्वर तिमी
प्रिय कविता !
म तिमीमै समर्पित हुन
तिम्रो बिरानो सहनरमा
तिम्रो हृदयको ढोका ढकढक्याउदै छु !
उनका कवितामा भुगोलको सिमा रेखाहरू छैनन् त्यसैैले त कहिले सुनामीमा आफन्त गुमाएका जापानीहरूको पीडामा सहानुभूति दिन जापान पुग्छिन् । संसारमा हामी सबैलाई जोड्ने एकमात्र चीज हो मानवीयता । मानवीय भाबनाले ओतपोत छन् उनका कविताहरू ।
मभन्दा टाढा एक्लै नरुनु
एक्लै रुँदा
आँसुको बाछिटा मसम्म आइपुग्दैन ।
यस संग्रहमा संग्रहित अन्तिम कबिता भीमसेन थापाको सुसाइड नोट शिर्ष कविता पनि हो । फरक शैलीमा लेखिएको कवितामा भीमसेन थापाहरू जस्ता असल व्यक्तिले आत्महत्या गर्नु पर्नाको परिस्थिती बारे विश्लेषण गरिएको छ । कविताले विगत भन्दा पनि वर्तमानलाई इंगित गर्न खोजेका छ ।
यस्तो अजङ्गको अभिशप्तता अन्त्य गर्न
यहाँ भीमसेन थापाहरूले सालिक होइन
बरु मुर्दा नै बन्नुपर्ने रहेछ ।
यस संग्रहमा मामिलाका कविता अर्थपुर्ण, खोजपुर्ण, सरल र दर्शनले भरिपुर्ण छन् । कवितामा जति मिठास पाइन्छ, त्यति नै भाव र अर्थको गहिराई हुन्छ । नारी भावको प्रवलता पाइन्छ यस संग्रहमा । कहिले यथार्थ त कहिले व्यक्तिगत भावनामा भावोल्लित भएको पाइन्छ । यद्यपी उनका कबितामा अमूर्त भाव पनि पाइन्छ । कवितामा रुचि राख्ने सबैले पढ्नै पर्ने कृति हो भीमसेन थापाको सुसाइड नोट ।