 |
प्रकाशक
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान
सल्लाहकार सम्पादक
राजेश्वर कार्की
chairman@mountdigit.com
प्रधान सम्पादक
मोमिला
momila.joshi@gmail.com
अनुवादक
कुमार नगरकोटी
वेबसाइट डेभलपर
संघर्ष भट्टराई
मदन भुजु
माउन्टडिजिट टेक्नोलोजी
टाइप सेटिङ्ग
सुमिना
श्रेष्ठ
सल्लाहकार
मोहनबहादुर कायस्थ
विष्णुबहादुर सिंह
डा. अरुण सायमी
योगराज गौतम
विश्वबिमोहन
श्रेष्ठ
राधेश्याम लेकाली
डा. हरिप्रसाद
डा. बद्री पोख्रेल
|
|
 |
 |
|
| |
 |
| |
|
|
|
|
|
|
|
 |
| समकालीन नेपाली नारीकवितालेखनमा अन्तरवस्तुको विविधता |
लक्ष्मणप्रसाद गौतम |
समकालीन नेपाली कविता भनेको आजको वा अहिलेको नेपाली कविता हो । निश्चित समयविन्दुका रूपमा तोकेर भन्नुपर्दा २०३६ सालको सडक कविताक्रान्ति’ देखि यताको नेपाली कवितालाई समकालीन नेपाली कविता मानिन्छ । एउटा समकालीनता पछाडि र्सर्दै गई अर्को समकालीनता आउने र पहिलेको समकालीनता भूतकालमा परिणत हुने भएकाले हरेक परिवर्तित समयको पछिल्लो डेढ-दुइ दशकव्यापी समयका कवितालाई नै वास्तविक रूपमा समकालीन कविता मान्नुपर्छ । आधुनिक नेपाली कविताको विकासक्रमलाई हेर्ने हो भने समय-समयमा धेरै प्रवृत्तिगत परिवर्तनहरू आएका छन् । यस क्रममा समकालीन नेपाली कवितामा पनि परिवर्तित समयले ल्याएका विविध घटनाक्रमहरूको प्रभाव परेको देखिन्छ ।
समकालीन नेपाली कवितामा नारीस्रष्टाहरूका कविताहरूले समकालीन चेतनालाई केही भिन्नै, संवेदनात्मक र विशिष्ट किसिमले अभिव्यक्त गरेको देखिन्छ । समकालीन नारीकवितालेखनमा नारीवादी चेतनाको अभिव्यक्ति त छंदै छ, साथै समकालीन युगजीवनका भोगाइ र अनुभूतिहरूलाई पनि आजका नारीस्रष्टाहरूले अभिव्यक्त गरेको देखिन्छ । समकालीन नारी कवितालेखनमा एउटा मात्र विषय, प्रवृत्ति, विचार, दृष्टिकोण, चिन्तन र विशेषता पाइंदैन । विशेषतः समकालीन नारीकवितालेखनमा नारीअस्तित्व, नारीजीवनका भोगाइ, पीडा, अनुभूति, प्रेम, वात्सल्य आदिको अभिव्यक्ति बढी स्पष्ट र प्रभावपूर्ण रूपमा भएको पाइन्छ ।
समकालीन नारीकवितालेखन पनि समकालीन नेपाली कविताको मूल प्रवाहको कवितालेखन हो । युगीन परिवर्तित समयले ल्याएका विभिन्न घटनावलीहरूको प्रभाव समकालीन नारीकवितालेखनमा पनि पर्ने भएकाले नारीकवितालेखनलाई समकालीन प्रवृत्तिकै रूपमा मान्नुपर्छ । समग्र समकालीन नेपाली कविताका तुलनामा समकालीन नेपाली नारीकविता प्रवृत्तिगत दृष्टिले विविधतामय, बढी संवेदनात्मक, चिन्तनका दृष्टिले बढी गम्भीर, प्रस्तुतिका दृष्टिले बढी सरल, आस्तित्विक दृष्टिले बढी तीव्र र भोगाइका दृष्टिले बढी यथार्थपरक भएको पाइन्छ । यिनै विशेषताहरूले समकालीन नेपाली नारीकवितालाई समकालीन मूल प्रवाहका कविताबाट पृथक् तुल्याउंछन् । यस आधारमा समकालीन मूल प्रवाहका नेपाली कविता र नारीस्रष्टाद्वारा सिर्जित समकालीन नेपाली कविताका बीचमा देखिने भिन्नतालाई यस प्रकार बुंदाबद्ध गर्न सकिन्छ-
१. समकालीन मूल प्रवाहका कवितामा विविध विषय र भावलाई बढी संवेदनात्मक रूपमा अभिव्यक्त गरिएको पाइन्छ भने समकालीन मूल प्रवाहभित्रका नारीकवितामा विषय र भावलाई बढी संवेदनात्मक रूपमा अभिव्यक्त गरिएको पाइन्छ ।
२. समकालीन मूल प्रवाहका कवितामा चिन्तन पक्ष बढी छरिएकाले एउटा मात्र चिन्तनको गहिराइ कम पाइन्छ भने त्यसभित्रका नारीकवितामा प्रायः एउटा-एउटा मात्र चिन्तन बढी पाइने भएकाले ती बढी गम्भीर देखिन्छन् ।
३. समकालीन मूल प्रवाहका कवितामा मानवीय अस्तित्व र मूल्यहीन जीवनको चित्रण बढी पाइन्छ भने त्यसभित्रका नारीकवितामा नारीअस्तित्व र नारीका मूल्यहीन जीवनको चित्रणका साथै तीव्र नारीवादी चेतना पनि पाइन्छ ।
४. समकालीन मूल प्रवाहका कवितामा युगजीवनका भोगाइ र पीडाहरू बढी निर्वैयक्तिक रूपमा अभिव्यक्त भएको पाइन्छ भने त्यसभित्रका नारीकवितामा युगजीवनका भोगाइ र पीडाहरू बढी वैयक्तिक रूपमा अभिव्यक्त भएको पाइन्छ ।
५. समकालीन मूल प्रवाहका कवितामा यथार्थ र अझ बढी आलोचनात्मक यथार्थ बढी व्यङ्ग्यात्मक भएर प्रस्तुत भएको पाइन्छ भने त्यसअर्न्तर्गतका नारीकवितामा भोगाइको यथार्थ तीव्र भएर पनि बढी सरल रूपमा अभिव्यक्त भएको पाइन्छ आदि ।
यसबाट समकालीन नारीकवितालेखन समकालीन नेपाली कविताको मूल प्रवाहभित्रकै कविता हुन् र ती मूल प्रवाहबाट नअलग्गिएर पनि प्रवृत्तिगत दृष्टिले केही भिन्न देखिन्छन् । समकालीन नारीकवितामा नारीवादी चिन्तन, चेतना र नारीअस्तित्वको अभिव्यक्ति पाइन्छ । समकालीन नारीकवितामा देखिने नारीवादी चिन्तन प्रायः पुरुषप्रधान समाजमा पुरुषहरूद्वारा नारीहरू बढी शासित र शोषित हुनुपरेको यथार्थतिर बढी केन्द्रित देखिन्छ ।
विषयगत विविधता, प्रवृत्तिगत विविधता, कथ्यलाई सोझो रूपमा प्रस्तुत गर्ने प्रवृत्ति र भाव एवम् विचारलाई गम्भीरताका साथ प्रस्तुत गर्नु आदि समकालीन नेपाली नारीकवितालेखनका प्रमुख विशेषता हुन् । समकालीन नेपाली नारीहरूका भोगाइ, पीडा, अनुभूति र अनुभव आदि समान छन् र तिनलाई समकालीन नेपाली नारीस्रष्टाहरूले वैयक्तिक स्वर र सामूकि स्वरमा अभिव्यक्त गरेका छन् । यी विविध प्रवृत्ति र स्वरहरूलाई अभिव्यञ्जित गर्ने समकालीन नेपाली नारीकवितालेखनमा पनि नेपालको राजनीतिक परिवेश, आर्थिक अनुशासनहीनता, सामाजिक विकृति र विसङ्गति, दिशाहीनता, युद्ध, हिंसा, अशान्ति, भय, संस्कृतिभञ्जनको पीडा, बिरानोपन, यान्त्रिक जडता, कामुकता, सन्त्रास, विद्रोह, क्रान्तिचेतना आदिको राम्रो अभिव्यक्ति पाइन्छ । नारीस्रष्टाका केही समकालीन कविताहरू यी प्रवृत्तिगत विशेषताका दृष्टिले अत्यन्त प्रभावी देखिन्छन् ।
समकालीन नेपाली कवितामा नारीलेखनको एउटा सशक्त र सबल पक्ष नारीवादी लेखन पनि हो । पुरुषप्रधान समाजमा नेपाली नारीहरूको स्थितिबोधलाई पनि सशक्त रूपमा अभिव्यक्त गरिएको पाइन्छ-
आंसु हतियार हो
मुस्कान हतियार हो
ठाउंअनुसार, समयअनुसार प्रयोग गर्नुपर्छ
स्थितिअनुसार परिस्थितिअनुसार उपयोग गर्नुपर्छ
स्वतन्त्र विचार राख्नु हुदैन
उन्मुक्त हांसो हांस्नु हुदैन
पोथी बास्नु हुदैन ।
- कुन्ता शर्मा
-पोथी बास्नु हुदैन’, समकालीन नेपाली कविता, पृ. ६८)
आंसु र मुस्कानको हतियार बोकेर ठाउं र परिस्थितिअनुरूप त्यसलाई प्रयोग र उपयोग गर्नुपर्ने नेपाली नारीको नियतिलाई देखाएर नारीहरूले पुरुषप्रधान समाजमा स्वतन्त्र विचार राख्न र उन्मुक्त हांसो हांस्नसमेत नपाएको स्थितिलाई यस कवितांशमा स्पष्ट पारिएको छ । नेपाली नारीहरूले पुरुषहरूद्वारा शासित बनेर दासतापूर्ण जीवन र परतन्त्रता मात्र बांच्नुपरेको यथार्थलाई पनि यस कवितांशमा अभिव्यक्त गरिएको छ ।
आन्दोलन, क्रान्ति र परिवर्तनका सर्न्दर्भहरूका साथै परिवर्तन र प्रजातन्त्रका निमित्त पनि समकालीन नारीकवितालेखनको विषयवस्तु केन्द्रित देखिन्छ । मुक्ति र स्वतन्त्रताको चाहना व्यक्त गरिएको यस्तै एउटा कवितांश यस प्रकार छ-
कांक्रा र फर्सी बीउजस्तो
पट्ट फुटेर समयअनुकूल माटो र ऋतुमा
झांगिंदै लहरिंदै जान्छन् आन्दोलन बनेर
मुक्तिका चाहनाहरू
चुंडालेर कथित बलियो बन्धनबाट
आंप, बेल र पीपलका रङ्गीचङ्गी पातहरूको ।
- पारिजात
-आन्दोलन’, आन्दोलन कविता,
पृ. ३२)
यस कवितांशमा २०४६ को जनआन्दोलनको सर्न्दर्भलाई प्रस्तुत गरिएको देखिन्छ । कांक्रा र फर्सीे बीउ समयअनुकूल माटो र ऋतुमा झांगिंदै जानुलाई जनआन्दोलन तीव्र र उत्कर्षहुदै जाने प्रक्रियासंग तुलना गरी त्यस आन्दोलनको लक्ष्य स्वतन्त्रताप्राप्ति वा मुक्तिको चाहना भएको कुरा व्यक्त गरिएको छ ।
समकालीन राजनीतिक परिवेशबाट पनि नारीस्रष्टाहरू प्रभावित छन् । आन्दोलनमा बन्दी बनाइएकाहरूलाई सङ्केत गरेर लेखिएको यस्तै एउटा कवितांशको नमुना यस प्रकार छ-
टट्टू घोडाले टांगन घोडालाई थुनेको छ
आफ्नो टाट्नुमा र तुष्टि लिएको छ
ट्टटू टिनी टापमा वायुपङ्खी टांगनको वेग थुने भनेर
बिचराले वृथा भ्रम सपना बुनेको छ ।
- अरुणा उप्रेती
-बन्दी’, आन्दोलन कविता, पृ. ९५)
यस कवितांशमा तानाशाही शासकहरूले आन्दोलनकारीहरूलाई बन्दी बनाएको प्रसङ्गलाई प्रतीकात्मक रूपमा अभिव्यक्त गरिएको छ । यहां तानाशाही शासकहरूलाई टट्टू घोडाको प्रतीकका रूपमा र आन्दोलनकारीहरूलाई वायुपङ्खी घोडाको प्रतीकका रूपमा प्रस्तुत गरी आन्दोलनकारीहरूलाई थुनेर विजयी भएको गर्व गर्ने र त्यसैको भ्रम पालेर बस्ने सत्ताधारीहरूप्रति व्यङ्ग्य पनि गरिएको छ ।
समकालीन नारीकवितालेखनको अर्को पक्ष प्रणयपरक चेतना पनि हो । कतिपय नारीस्रष्टाहरूका कवितामा प्रणयको उच्च उदात्त स्वरूपको चित्रण पाइन्छ भने कतिपय कवितामा नारीको र्समर्पणभाव पाइन्छ ।
मन कतै प्रथम प्रणयको आभासले
नित नित्यशः तरङ्गित भएको छ
पाइतालाहरू सधैं कसैका म्वाइंहरूले
नसा-नसामा सञ्चारित भएका छन्
पुट-पुटमा समाहित भएका छन् ।
- इन्दिरा प्रर्साई
-शीत अझै ओभाएको छैन’, समकालीन नेपाली
कविता, पृ. ५६)
यस कवितांशमा प्रथम प्रणयले एउटी नारीको मन र शरीर दुवैलाई अत्यन्त प्रभावित पारेको, मन पुलकित भएको, शरीर तरङ्गित भएको र त्यसबाट नारीमा प्रणयजन्य व्याकुलता अझै तीव्र भएको कुरा देखाएर प्रणयविम्बको राम्रो सिर्जना गरिएको छ ।
नारीजीवनका विविध यात्राहरू र नारीजीवनले भोग्नुपरेका नियतिहरूलाई पनि समकालीन नेपाली नारीस्रष्टाहरूले आफ्ना कवितामा अभिव्यक्त गरेको देखिन्छ । यस्तै अभिव्यक्तिको एउटा कवितांश यस प्रकार छ-
एकलास वनमा खोला सुसाएझैं
सुसाइरहेछ मेरो यो जिन्दगी
बेमौसममा हुरी बतास चलेझैं
बतासिरहेछ मेरो यो जिन्दगी ।
- पद्मावती सिंह
-गीत’, कविता, पूर्णाङक् ५३, पृ. २८)
खोला सुसाएझैं सुसाइरहेको जिन्दगी र बेमौसमको हुरी-बतासले बतासिएको जिन्दगी भनेर नियतिले जीवनलाई अव्यवस्थित रूपमा हुत्याएको सङ्केत गरिएको छ । एकलास वनमा सुसाइरहेको खोलाले जीवनको शून्यतालाई र हुरी-बतासले नियति एवम् परिस्थितिलाई सङ्केत गरेर नारीजीवनको परतन्त्रतालाई पनि अभिव्यक्त गरिएको छ ।
नारीवादी चेतना र नारीपीडाकै अभिव्यक्तिका रूपमा नारीको गर्भधारणको पीडालाई पनि कविताको अर्न्तर्वस्तु बनाइएको छ-
म मेरो गर्भ दिन चाहन्नं/तिम्रो सन्तानका लागि
सृष्टिको कुनै नयां उपाय खोज अब
त्यो नौमहिने सास्ती/र प्रसवपीडाको यातना
मरीमरी बांचेकी छु म/प्रत्येक फेरा ।
- कुन्दन शर्मा
-र्गर्भıोह’, कविता, पूर्णाङक् ६०, पृ. १४)
यस कवितांशमा गर्भधारण नगर्नका निमित्त एउटी नारीको पुरुषप्रति विद्रोहको भाव अभिव्यञ्जित गरिएको छ । नौ महिनासम्मको गर्भधारण, प्रसवपीडा र त्यसको यातनाबाट आहत नारीले सृष्टिका लागि कुनै नयां उपाय खोज्न पुरुषलाई आग्रह गरेको भाव छ । यसबाट एकातिर नारीविद्रोह र पीडा व्यक्त भएको छ भने अर्कातिर टेस्टटयुब सन्तान जन्माउनुपर्ने सङ्केत पनि गरिएको छ ।
कुनै पुरुषको साहचर्यबाट नारीको अस्तित्वमा परिवर्तन नआउने र कुनै पुरुषसंगको संसर्गमा एउटी नारी पुरुषमय हुन नसक्ने भाव देखाई नारीवादी चेतना अभिव्यक्त गरिएको एउटा कवितांश यस प्रकार छ-
तिमीले पानी खन्याउंदैमा/पातलिंदैन मेरो रङ्ग
तिमीले पानी नखन्याउंदैमा/सुक्दैन मेरो रङ्ग'
कसैले दिएर रङ्गिएको मेरो रङ्ग होइन
कसैसंग मागेर रङ्गिएको मेरो रङ्ग होइन ।
- भागीरथी श्रेष्ठ
-पक्का रङ्ग’, कविता, पूर्णाङक्
७६, पृ. ५३)
यस कवितांशमा नारीअस्मिता र अस्तित्व कहिल्यै पनि परिवर्तित नहुने कुरा व्यक्त गरिएको छ । यस कवितांशमा प्रयुक्त रङ्ग’ शब्द नै स्वयम्मा नारीअस्तित्वको प्रतीक हो र यो पुरुषसंगको सम्बन्ध र साहचर्यबाट परिवर्तित हुदैन भन्ने कुरालाई प्रस्तुत गरिएको छ । अझ साङ्केतिक रूपमा भन्नुपर्दा पतिको मृत्युपछि शृङ्गार परिधान त्यागेर वैधव्य वेशभूषा धारण गर्नुपर्ने नारीबाध्यताप्रति विमति पनि प्रकट गरिएको छ ।
युद्ध, हत्या, हिंसा र यस्तो सन्त्रासबाट उत्पन्न भयावह परिस्थितिलाई अभिव्यञ्जित गर्नु समकालीन नेपाली कविताको मुख्य अभिलक्षण हो । यस्तै समकालीनता अभिव्यञ्जित गरिएको एउटा कवितांश यस प्रकार छ-
तिनका आर्तपुकार/लथालिङ्ग छन् रगतका धाराले मुछिएर
पानी छैन थोपासम्म, अधिक क्रन्दनले
आंसु र्झन नसकेको/वेदनाको एक ढिक्का हिमाल ।
- मञ्जु कांचुली
-र्वर्तमान स्थितिको चेहरा’,
कविता, पूर्णाङक् ७३, पृ. २२)
कवितांशमा समकालीन चेतनाको प्रभावपूर्ण अभिव्यक्ति छ । आर्तपुकार गरिरहेका, रगतको धारले मुछिएका र अधिक क्रन्दनले आंसुसमेत र्झन नसकेका एवम् वेदनाको एक ढिक्का हिमाल बोकेर बसेका अरू कोही नभई आजका नेपाली नै हुन् भन्ने भाव यहां व्यक्त गरिएको छ । यसबाट आन्तरिक युद्ध र सन्त्रासबाट आहत नेपालीहरूको यथार्थ चित्र उतारिएको छ र यो रक्तपर्वबाट मुक्तिको चाहना पनि प्रकट गरिएको छ ।
समकालीन नेपाली नारीकवितालेखनको अर्को अवान्तर प्रवृत्ति प्रकतिचित्रण पनि हो । यद्यपि अहिले यो नवस्वच्छन्दतावादी प्रवृत्तिकै रूपमा समकालीन नारीकवितालेखनमा पनि अभिव्यक्त भएको पाइन्छ-
उठेछ झोक बेसरी गडयाङ्ग मेघ गर्जियो
मसाल अग्निको झिकी चटयाङ्ग व्योम चड्कियो
झसङ्ग भै उठे सबै धरा थर्रर थर्किइन्
अदम्य क्रान्ति भो अहो ⁄ र्सतर्क सृष्टि ब्युंझिइन् ।
- प्रभा भट्टर्राई
-वर्षा’, कविता, पूर्णाङक् ७३,
पृ. १०६)
यस कवितांशमा वर्षा ऋतुको जीवन्त चित्र उतारिएको छ र वर्षा ऋतुका माध्यमबाट प्रकृतिको कार्यव्यापारलाई पनि देखाइएको छ । मेघ गर्जिनु, आगाको मसाल झिकेर आकाश चड्किनु, पृथ्वी थर्किनु आदि ऋतुचक्रको वर्षा-प्रकृतिका कार्यव्यापार हुन् । वर्षा ऋतुका यी कार्यव्यापारलाई देखाएर प्रकृतिलाई मानवीकरण पनि गरिएको छ र वर्षा-प्रकृतिको रौı रूपलाई प्रस्तुत गरिएको छ ।
जीवनका असङ्गतिहरू, प्रतिकूलताहरू र अभिशापहरूबाट आजको मान्छे आक्रान्त छ र उसले सङ्गतिहीनताको अभिशप्त जीवन बांच्नुपरेको छ भन्ने कुराप्रति पनि समकालीन नारीकविता केन्द्रित भएको पाइन्छ-
कैयन् ऋतुहरू हांगाबाट झर्दै रहे
सिसिफस श्रापबाट मुक्त भएको सपना पनि देखें
ब्युंझंदा श्रापको ठूलो ढुङ्गाले आंफैं किचिएको रहेछु
'र विमूढ सामुन्नेमा
छायाका अनन्त अर्थहरू बौरिएर
अग्लिंदो कालो पहाड हेरिरहें ।
- मोमिला
-छायामा कालो निıाको समवेदना’, दुर्गम उचाइमा
फूलको आंधी, पृ. ५१)
कवितांशमा प्रयुक्त कालो पहाड जीवनयात्राको प्रतीक हो । सिसिफसले ढुङ्गालाई घचेट्दै-घचेट्दै लगेर पहाडको टुप्पामा पुर्याउनुपर्ने श्राप पाएको र ढुङ्गो पहाडमा पुग्दा-नपुग्दै फेरि तल झर्ने गरेको नियमित प्रक्रियालाई मान्छेले बांच्नका लागि र अस्तित्वका लागि संघर्ष गर्नुपरेको यथार्थ कवितांशमा देखाइएको छ । श्रापको ठूलो ढुङ्गाले किचिनु सङ्गतिहीन जीवन बांच्नुको प्रतीक हो भन्ने देखिन्छ । यस कवितांशमा चिन्तनपक्ष प्रभावी देखिन्छ ।
कतिपय समकालीन नारीवादी कवितामा पुरुषविरोधी चेतना पाइन्छ भने कतिपय नारीवादी कवितामा नारीअस्तित्व पाइन्छ । तर कतिपय कवितामा चाहिं पुरुषलाई नारीहरूले सहजै नियन्त्रणमा लिन सकिने कुरा पनि व्यक्त भएको पाइन्छ-
तिमीहरूको बललाई/प्रिय पत्नी बनेर/पूज्य परमेश्वर बोलेर
हातमा रिमोट लिंदै/आफ्नो इच्छाअनुकूल
च्यानल परिवर्तन गर्न सकिन्छ
तिमीहरू/मात्र टेलिभिजनका पर्दा
रिमोटले नचाउंदा नाच्ने/खेलाउंदा खेल्ने ।
- बेञ्जु शर्मा
-लोग्ने मानिसहरू’, सम्बन्ध प्रदूषण,
पृ. ३१)
यस कवितांशमा पुरुषले नारीहरूलाई नियन्त्रणमा राखेर खेलाउने गरेको पुरुषको हैकमवादी प्रवृत्तिलाई विपर्यास र विपरीत भावका माध्यमबाट अभिव्यक्त गरेर नारीवादी चेतना प्रस्तुत गरिएको छ ।
समकालीन नारीकवितालेखनमा यौनवादी प्रवृत्ति पनि देखिन्छ । यस्तो यौनवादी प्रवृत्ति कहीं अश्लील रूपमा र कहीं प्रतीकात्मक रूपमा अभिव्यक्त भएको पाइन्छ-
आऊ, तिमी र मितेरी लगाऊं र एकाकार बनौं
तिमी आफ्नो परशुको प्रथम प्रहार मैबाट सुरु गर ।
- वानीरा गिरि
-चोट’, नेपाली समसामयिक
कविताहरू, पृ. २७७)
यस कवितांशमा प्रयुक्त परशु शब्द पुरुषलिङ्गको प्रतीकका रूपमा आएको छ र परशु -बन्चरो) रूपी लिङ्गले अक्षतयोनिमा प्रहार गर्ने सर्न्दर्भका माध्यमबाट मैथुनिक कार्यव्यापारलाई देखाइएको छ ।
यौनका क्रियात्मक रूपको वर्णन गर्ने प्रवृत्ति पनि केही नारीस्रष्टाहरूमा पाइन्छ । यस्तै यौनको क्रियात्मक रूपको वर्णनयस प्रकार छ-
तिमी खुब पौडिरहेका थियौ
म पनि खुब पसिना काढिरहेकी थिएं
र हामी दुवै त्यही पोखरीमा
पौडिरहेका थियौं, हेल्लिइरहेका थियौं र पसिना काढिरहेका थियौं ।
- सीता पाण्डे
-कालो पोखरी’, नेपाली समसामयिक कविताहरू, पृ. ३६९)
कवितांशमा प्रयुक्त पौडिनु र पसिना काढ्नुले सम्भोगको स्थितिलाई देखाएका छन् । पोखरी स्त्रीयोनिको प्रतीकका रूपमा आएको छ र यौनतृष्णाको व्याकुलतालाई यसमा देखाइएको छ । समग्रमा यौनका क्रियात्मक चित्रण र त्यसको उत्कर्षकवितामा प्रभावपूर्ण रूपमा आएको देखिन्छ ।
कालिदासको प्रतीकविधानद्वारा आजका मान्छेको बुद्धिहीनतालाई पनि समकालीन नारीस्रष्टाहरूले अभिव्यक्त गरेका छन्-
कालिदास हांगाहरू/हांगो काटिरहेको कालिदास
कालिदास भुइंमा पछारिन्छ
कतै महाकाव्य लेख्ने कालिदास
मुक्तक नलेखिंदै ।
- भुवन ढुङ्गाना
-कालिदास’, समकालीन नेपाली कविता, पृ. २०४)
समकालीन नेपाली नारीस्रष्टाहरूले मानवीय मूल्यविघटनको यथार्थलाई पनि विषयवस्तु बनाएर कविता लेखेका छन् । जीवनको मूल्यहीनतालाई अभिव्यञ्जित गर्ने यस्तै एउटा कवितांश यस प्रकार रहेको छ-
हामीबीच हिजोअस्तिको कुरा हो
एउटा कुकुरको छाउरोको दुर्घटना
बीचसडकमा जमिसकेका रगतहरू/जसलाई हामी बारम्बार थुक्दै
ओहोरदोहोर गरिरहेका छौं ।
- तोया गुरुङ
-हामीबीच फस्टाइएका अस्पष्टताहरू’, देवल घुमेपछि,
पृ. ८०)
यस कवितांशमा कुकुरका छाउराको दुर्घटनाको प्रतीकविधानद्वारा मान्छेको जीवनको मूल्य कुकुरको जत्तिको पनि नभएको भाव अभिव्यञ्जित गरिएको छ । यसबाट आजका मान्छेको मानवीय जीवनमूल्य क्षय भइरहेको यथार्थ देखाइएको छ ।
युद्धग्रस्त परिवेशको युगीन यथार्थ पनि समकालीन नारीकवितालेखनको एउटा पाटो हो र यसले समकालीन जीवनको भोगाइलाई देखाउंछ-
युद्धोपरान्त/कलिला हातहरूमा
भविष्य मुठी पारेर युगको/यस घुइंचोमा
हाम्रा नाबालक शिशुहरू थाकेर सुतेका छन् ।
- शारदा शर्मा
-युद्धोपरान्त’, समकालीन नेपाली
कविता, पृ. २९९)
सामरिक परिवेशले बालकहरूको भविष्यलाई दिशाहीन, अन्योल र अन्धकारमय बनाउने कुरा देखाएर यस कवितांशमा युद्धजन्य संहारबाट संसारलाई टाढै राखी युद्धको विभीषिकाबाट डर्राई थाकेर सुतेका बालकहरू शान्तिको निıा निदाउन दिनुपर्ने सङ्केत गरिएको छ ।
समकालीन नारीयुगजीवनको भोगाइकै अभिव्यक्तिलाई पनि नारीस्रष्टाहरूले अभिव्यक्त गरेका छन् । यस्तै अभिव्यक्तिको एउटा कवितांश यस प्रकार छ-
सात वर्षी ठूल्कान्छी सहर झरेकी छ
राजधानी काठमाडौं आएकी छ/घुम्न होइन
आफन्तकहां दुइचार दिन पाहुना लाग्न पनि होइन
भाग्य बनाउन भविष्य खोज्दै
बाढीहरूसंग लहैलहैमा मिसिएर बगेकी ।
- अरुणा वैद्य
-काठमान्डूको आकाश र ठूल्कान्छी’,
समुıलाई आंसु चाहिंदैन, पृ. १९)
यस कवितांशमा युगीन बेथितिको कुरूप यथार्थलाई देखाउंदै काम र मामको खोजीमा सात-आठ वर्षा विपन्न पहाडिया ग्रामीण बालिकाहरू सहर अर्थात् काठमाडौंमा आई काम गर्न बाध्य भएको कुरा देखाइएको छ । यसबाट एकातिर बालश्रमशोषणलाई देखाइएको छ भने अर्कातिर ठूल्कान्छीलाई श्रमिक बालिकाकी प्रतिनिधिपात्रका रूपमा प्रस्तुत गरिएको छ ।
आजका अधिकांश समकालीन कवितामा मान्छेको जीवनलाई बढी रूपमा नै केन्द्रीय अर्न्तर्वस्तु बनाइएको पाइन्छ र समकालीन नारीकवितालेखनमा पनि यो प्रवृत्ति बढी देखिन्छ-
आज आएर
जीवन सन्दिग्ध किन भयो -
आज फुल्ने एउटा फूल
कांडैकांडाले बिझदो किन भयो ।
- सन्ध्या पहाडी
-जीवन’, मृगतृष्णा, पृ. ३३)
यस कवितांशमा जीवनका सङ्गतिहीनतालाई देखाइएको छ । असन्दिग्ध भएर बांच्नुपर्ने जीवन सन्दिग्ध भइरहेको र फूलरूपी सौर्न्दर्यमय जीवन कांडैकांडाले बिझदो भएको कुराले जीवनको विसङ्गतिपूर्ण पक्षलाई देखाएको छ । यसरी कवितामा जीवनवादी चिन्तन र सङ्गतिहीनता दुवैको प्रभावी अभिव्यञ्जना छ ।
कतिपय नारीकवितालेखनमा भावना, अनुभूति र संवेदनाको संयोजनबाट जीवनका उतारचढावहरूलाई पनि अभिव्यक्त गरिएको पाइन्छ-
शङ्का-उपशङ्काको उपज हो मन
कायर हो आंफैंमा मन/बलवान् पनि हो मन
र हो/समयको बन्द घडीको घेरामा अटाउन ।"
- लक्ष्मी उप्रेती
-मन भनेको त हावा हो, सय
वर्षा कविता, पृ. २१५)
यस कवितांशमा मनलाई पूर्वीय दर्शनका कोणबाट हेरिएको छ र सम्पूर्ण क्रिया-प्रतिक्रियाको निर्देशकका रूपमा मनलाई नै मानिसको विभिन्न शङ्का-उपशङ्का, कायरता, शक्ति, समय, संवेदना, मान्छेका यावत् प्रतिक्रियाहरू सबै मनद्वारा नै परिचालित हुन्छन् भन्ने भाव यस कवितांशमा पाइन्छ ।
नारी अस्मिताका साथसाथै आशावादी जीवनदृष्टि पनि समकालीन नारीकवितालेखनको एउटा प्रवृत्ति हो । यसै प्रवृत्तिलाई सङ्केत गर्ने एउटा कवितांश यस प्रकार रहेको छ-
निराशा कायरताको चि≈न हो
हामी आशाको दियो लिएर
यस धरतीमा आएका छौं
हाम्रो आफ्नो प्रतीक्षा छ
आफ्नै अस्मिताका लागि ।
- शुभ श्रेष्ठ
-अस्मिता’, कविता, पूर्णाङक् ६०, पृ. ५०)
यस कवितांशमा नारीलाई निराशा त्यागी आशावादी दृष्टिकोणका साथ आफ्नो नारीअस्मिताका लागि प्रतीक्षा गर्नुपर्ने धारणा व्यक्त गरिएको छ । सरल भाषामा नारी आशाको प्रतिमुर्ति हो, निराशाकी होइन भन्ने भाव पनि व्यक्त भएको पाइन्छ ।
नारीस्वतन्त्रतालाई मानवीय स्वतन्त्रताका रूपमा देखाएर त्यो नारीस्वतन्त्रताप्राप्तिका निमित्त क्रान्ति गर्नुपर्ने सङ्केत पनि समकालीन नारीकवितालेखनमा पाइन्छ-
बैसाखी हराएको
वसन्तको पूर्वबिहानी
स्वाधीन पाइलाहरू पहाड उक्लिरहेछन्
थाहा छ - त्यो आगोको यात्रा हो ।
- गीता कार्की
-मन्दिरबाट हराएका शाल्रि्राम’, बगर,
पूर्णाङक् ७१)
यस कवितांशमा आगोलाई क्रान्तिको प्रतीक मानेर स्वाधीनताको पहाड उक्लिनका लागि क्रान्तिरूपी आगोको यात्रा गर्नुपर्ने सङ्केत गरिएको छ । नारीस्वतन्त्रता र मानवीय स्वतन्त्रताका अर्थमा क्रान्तिको र्सार्वकालिक र र्सार्वदेशिक महत्त्वलाई यहां देखाइएको छ ।
विषयगत वैविध्य र लयगत वैविध्य पनि समकालीन नारीकवितालेखनका विशेषता हुन् । गजलमा प्रणयपरक चेतनाको एउटा अभिव्यक्ति यस्तो छ-
मुटुको यो गुलेलीमा पिरतीको तीर राखी
निसानामा तिमीलाई नै ताकूं-ताकूं लागिरै’छ ।
- पद्मा अर्याल
-दुइ गजल’, कविता, पूर्णाङक् ५०,
पृ. ८७)
यस कवितांशमा नवस्वच्छन्दतावादी चेतना छ । तिमी’ द्वारा सम्बोध्य कल्पित प्रेमीलाई मुटुको गुलेलीमा प्रेमको तीर राखेर निसाना बनाई ताकेको सर्न्दर्भका माध्यमबाट प्रणयपरक चेतना अभिव्यक्त गरिएको छ ।
यस्तै प्रणयपरक चेतनालाई स्मृतिविम्बका माध्यमबाट प्रस्तुत गरिएको एउटा कवितांश यस प्रकार रहेको छ-
म सम्झन लागिरहेछु- हिजोका दिनहरू
तिमीसंगका क्षणहरू
म खोजिरहेछु हरेक अनुहारमा
मैले गुमाएका दिनहरू ।
- उषा शेरचन
-मात्र आरुका बोटहरू ⁄ मात्र पीपलका बोटहरू’,
समकालीन नेपाली कविता, पृ. ५९)
यस कवितांशमा एकातिर स्मृतिविम्बका माध्यमबाट प्रणयपरक चेतना व्यक्त गरिएको छ भने अर्कातिर अतीतका सर्न्दर्भमा बितेको समय र्फर्किंदैन भन्ने भाव पनि व्यक्त गरिएको छ ।र्
वर्तमानको अशान्ति, द्वन्द्वग्रस्त परिवेश र सन्त्रासजस्ता युगीन यथार्थलाई समकालीन नारीस्रष्टाहरूले यथार्थ भोगाइका रूपमा नै प्रस्तुत गरेका छन्-
असुरक्षति आकाशमुनि
मान्छेहरू- मान्छेको खति गरिरहेछन्
म,/जिन्दगीको भूमध्यरेखामा उभिएर
यस बखत शान्तिको कथा लेखिरहेछु ।
- विमला तुम्खेवा
-मैले बांचेको वर्तमानमा मान्छेहरू उदास
छन्’, कविता, पूर्णाङक् ७६, पृ. १६३)
यस कवितांशमा असुरक्षति र सन्त्रासमय परिवेशलाई देखाएर युगीन यथार्थको चित्र उतारिएको छ । मान्छेले मान्छेकै खति गरिरहेको वर्तमान सर्न्दर्भमा शान्तिको कामना गर्नुपर्ने भाव देखाएर मान्छेको संहार होइन, सम्भार चाहिएको कुरा सङ्केत गरिएको छ ।
कतिपय समकालीन नारीकवितालेखनमा मातृत्वभावलाई पनि विषयवस्तु बनाइएको छ । पहाडिया ग्रामीण विपन्न आमाको मातृत्वभावलाई सामाजिक यथार्थका रूपमा प्रस्तुत गरिएको एउटा कवितांश यस प्रकार रहेको छ-
आमा प्रत्येक पल्ट आशाका बीउहरू रोप्छिन्
तर खै ती बीउहरू उम्रिनै पाउंदैनन्
उनको छातीभित्र भत्केको बांध बांध्न
परदेश गएको छोरो कहिले र्फकने होला ।
- सुस्मिता नेपाल
-आमा’, कविता, पूर्णाङक् ६०,
पृ. १०१)
काम र मामको खोजीमा परदेश गएको छोराप्रतिको मातृवात्सल्य भावलाई हृदयभरि राखेर आशाका सुखद कल्पनामा रमाउने आमाको पीडायुक्त भोगाइलाई यस कवितांशमा देखाइएको छ । यसबाट मातृत्व र विपन्न नेपाली आमाहरूले भोग्नुपरेको आर्थिक पीडालाई अभिव्यक्त गरिएको छ ।
प्रकृतिलाई मानवीय संवेदनासंग साधारणीकरण गरेर प्रकृतिको आन्तरिक स्वरूपलाई देखाउने प्रवृत्ति पनि समकालीन नारीकवितालेखनको एउटा विशेषता हो-
स्वतन्त्र वनमा बिचर्ने/बरा एउटा चरो
उसलाई यो सब बाधा विधानले/नछोएकै पनि त हुन सक्छ
प्रकृति जसको शृङ्गारमा सञ्चित त छिन् सधैं
उसको संसार निष्कपट रहेकै पनि त हुन सक्छ ।
- सरला विष्ट
-बित्थामा किनर् इष्र्या उठ्न खोज्छ’,
समकालीन नेपाली कविता, पृ. ३१७)
यस कवितांशमा चराको प्रतीकविधानद्वारा प्रकृतिलाई सुन्दरता, स्वच्छता र पवित्रताका रूपमा चित्रण गरी प्रकृतिले मान्छेमा पार्ने प्रभावलाई देखाएर प्रकृतिको आन्तरिक स्वरूपलाई देखाइएको छ र यसबाट मानवीय संवेदनालाई समेत अभिव्यक्त गरिएको छ ।
समकालीन नेपाली कवितामा नारीस्रष्टाहरूको उपस्थिति पनि उल्लेखनीय रहेको छ भन्ने कुरा उपर्युक्त विश्लेषणमा आएका नारीस्रष्टा र तिनका कविताहरूले स्पष्ट पारेका छन् । माथि उल्लिखित कवयित्रीहरूका अतिरिक्त अन्य धेरै नारीस्रष्टाहरूका धेरै कविताकृतिहरू देखिन्छन्, ती सबैलाई यहां उल्लेख गर्नु सम्भव छैन । प्रवृत्तिगत रूपमा भन्नुपर्दा नारीस्रष्टाहरूका कवितामा सामूहिक प्रवृत्ति वा स्वर र वैयक्तिक प्रवृत्ति वा स्वर देखिन्छन् । आजका अधिकांश नारीस्रष्टाहरूले आफ्नो कवितामा समकालीन युगचेतनालाई राम्ररी आत्मसात् गरेको पाइन्छ तापनि नारीजीवनका पीडा, भोगाइ, अनुभूति र अनुभवका साथै नारीजीवनका समस्यालाई देखाउने प्रवृत्ति केही बढी पाइन्छ । अझ त्यसमा पनि नारीअस्तित्व/नारीअस्मिता र नारीस्वतन्त्रताका विषयवस्तुलाई अभिव्यञ्जित गर्नु आजका नारीकवितालेखनका मुख्य पहिचान हुन् ।
समकालीन नेपाली नारीकविता-सिर्जनपरम्परालाई हेर्ने हो भने कवितामा अर्न्तर्वस्तुको प्रयोगका दृष्टिले विविधता पाइन्छ । समकालीन नारीस्रष्टाहरू कथ्यलाई प्रभावी बनाउन जति सक्षम र सबल देखिन्छन्, यसका तुलनामा शिल्पलाई प्रभावी बनाउन केही नारीस्रष्टाहरू त्यति सबल भएको पाइंदैन । आजका कवितामा पाठकले अपेक्षा गर्ने महत्त्वपूर्ण कुरा विचार हो । विचार-चेतनाका दृष्टिले समकालीन नारीकवितामा केही न्यूनता देखिन्छ भने संवेदनाको प्रकटीकरणका दृष्टिले सबलता र आधिक्य पाइन्छ । समकालीन नारीकवितामा संवेदना, भावना र अनुभूतिको जति सशक्तता छ त्यसका तुलनामा विचार र चिन्तनको त्यति सशक्तता पाइंदैन ।
समकालीन नेपाली कवितालेखनमा नारीस्रष्टाहरूको पृथक् विशेषता भनेको नै नारीजीवनका भोगाइ, अनुभूति, पीडा आदिलाई साधारणीकरण गरेर देखाउनु हो । नारीजीवनका यावत् भोगाइ, अनुभूति, पीडा र समस्याहरू र्सार्वकालिक र र्सार्वदेशिक लाग्छन् र एउटी नारीका कवितामा पाइने यस्तो अर्न्तर्वस्तु अन्य केही नारीस्रष्टाहरूमा पनि पाउन सकिन्छ≤ तर अभिव्यक्तिकला र प्रस्तुतिमा ती भिन्न लाग्छन् । संवेदनाको परिपुष्टताका दृष्टिले पनि नारीकविताले पृथक् पहिचानको अपेक्षा राख्छन् । अन्य आधारमा भने लिङ्गीय दृष्टिले नारीस्रष्टा र पुरुषस्रष्टाका कवितामा पृथक्ता पाइंदैन । समकालीन जीवनका भोगाइ, अनुभूति, चेतनाको पीडा सबै समान छन् र यिनै कुराहरूलाई दुवै वर्गका स्रष्टाहरूले आफ्ना कवितामा अभिव्यक्त गरेका छन् ।
समकालीन नारीकवितालेखनका मूलभूत प्रवृत्तिगत विशेषताहरूलाई यस प्रकार बुंदाबद्ध गर्न सकिन्छ-
१. युगजीवनका भोगाइ र अनुभूतिको यथार्थपरक प्रस्तुति,
२. समाजका विविध क्षेत्रमा देखिएका युगीन असङ्गतिको यथार्थ चित्रण,
३. प्रकृतिचेतना, प्रणयचेतना, जीवनचेतना र यौनचेतनाको अभिव्यक्ति,
४. नारीजीवनका भोगाइ, अनुभूति, पीडा र नारीसमस्याको यथार्थपरक प्रस्तुति,
५. नारीअस्तित्व वा अस्मिताको खोजी र सो प्राप्तिका लागि आ≈वान,
६. पुरुषप्रधान समाजका नारीविरोधी र असमान प्रवृत्तिको विरोध,
७. नारीजीवनका कुण्ठा, प्राप्ति-अप्राप्ति र आशा-निराशाको अभिव्यक्ति,
८. कतिपय कवितामा नारीवादी चेतना र मातृत्वचेतना,
९. विचारभन्दा संवेदनालाई मुखरित बनाउने प्रवृत्ति आदि ।
प्रमुख सर्न्दर्भसूची
१. खरेल, रुı -सम्पा.), आन्दोलन कविता, काठमाडौं : स्रष्टा प्रकाशन, २०४७ ।
२. गुरुङ, तोया, देवल घुमेपछि, काठमाडौं , नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान, २०५४ ।
३. गौतम, लक्ष्मणप्रसाद, समकालीन नेपाली कविताको विम्बपरक विश्लेषण, ललितपुर, साझा प्रकाशन, २०६० ।
४. -----------, समकालीन नेपाली कविता प्रवृत्तिगत सर्न्दर्भमा’, समकालीन साहित्य, पूर्णाङक् ५०, २०६० ।
५. न्यौपाने, दैवज्ञराज र अन्य, सय वर्षा कविता, काठमाडौं , गोरखापत्र संस्थान, २०५८ ।
६. पहाडी, सन्ध्या, मृगतृष्णा, काठमाडौं , निनाद प्रकाशन, २०५३ ।
७. प्रर्साईं, कृष्ण -सम्पा.), नेपाली समसामयिक कविताहरू, काठमाडौं , भट्टर्राई स्मृति मण्डप, २०४८ ।
८. मोमिला, दुर्गम उचाइमा फूलको आंधी, काठमाडौं , कालचक्र नेपाल, २०६० ।
९. लुइटेल, खगेन्ı, कवितासिद्धान्त र नेपाली कविताको इतिहास, काठमाडौं , नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान, २०६० ।
१०. वैद्य, अरुणा, समुıलाई आंसु चाहिंदैन, काठमाडौं , कालचक्र नेपाल, २०६० ।
११. शर्मा, बेञ्जु, सम्बन्ध प्रदूषण, काठमाडौं , नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान, २०५९ ।
१२. शर्मा, मोहनराज, समकालीन समालोचना , सिद्धान्त र प्रयोग, काठमाडौं , नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान, २०५५ ।
१३. सुवेदी, अभि र अन्य -सम्पा.), समकालीन नेपाली कविता, काठमाडौं , नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान, २०५५ ।
१४. कविता पत्रिका, पूर्णाङक् ५०, ५३, ६०, ७३ र ७६ ।
१५. बगर पत्रिका, पूर्णाङक् ७१ ।
|
| |
|
|
|
|
|
 |
ADVERTISMENT |
|
|
|